काठमाडौं । २० हजार रुपैयाँ घुस लिएको रकमसहित सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेसक्याम्प, रुपन्देही विष्णुपुराका सशस्त्र प्रहरी सहायक हवल्दार नगेन्द्र सेनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पक्राउ गरेको छ ।
सहायक हवल्दार सेनले ट्र्याक्टरमा माटो ओसारपसार गर्नेसँग घुस माग गरेका थिए । उनले घुस माग गरेको उजुरी अख्तियारको बुटवलस्थित कार्यालयमा परेको थियो । सोही उजुरीको आधारमा गएको अख्तियारको टोलीले सहायक हवल्दार सेनलाई घुस लिएको रकमसहित पक्राउ गरेको हो ।
अख्तियारका प्रवक्ता भोला दाहालले विज्ञप्तिमार्फत दिएको जानकारीअनुसार सहायक हवल्दार सेनलाई रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. ३ मंगलपुरबाट पक्राउ गरी अनुसन्धान थालिएको छ ।