सोलुखुम्बु । चिसोको कारण गत मंसिरदेखि सुनासान रहेको सगरमाथा क्षेत्रमा फेरि पर्यटक भित्रिन थालेका छन् । फागुनको दोस्रो सातादेखि सोलुखुम्बुमा पर्यटक भित्रिन थालेका हुन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य हिमालको आरोहन तथा मनोरम दृश्यको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरु यस क्षेत्रमा आउने गरेका छन् । फागुनबाट सुरु भएर जेठको मध्यसम्म चल्ने यो सिजनका लागि चहलपहल सुरु हुन थालेको नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए ।
अहिले दैनिक एक सयको हाराहारीमा पर्यटक सगरमाथा क्षेत्र आउन थालेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चे सोलुखुम्बुले जनाएको छ । यस्तै हवाई मार्ग प्रयोग गरी आउने पर्यटकका कारण तेञ्जिङ हिलारी विमानस्थलमा उडान संख्या दिनप्रतिदिन बढिरहेको नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । पछिल्लो एक सातायता दैनिक २० वटासम्म उडान हुनेगरेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख महेश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार लुक्ला भित्रिने पर्यटकको चाप अधिक छ भने फर्कनेको संख्या न्यून रहेको छ । उनले भने ‘अहिले विमानको चाप बढेको छ, प्यासेन्जरको फ्लो पनि अधिक छ, खुम्बु भित्रिने ८० प्रतिशत बढी विदेशी नागरिक छन् । नेपाली कम छ ।’ पर्यटकको चाप बढ्न थालेपछि सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय जोरसल्ले प्रवेशद्वारका कर्मचारीको व्यस्तता पनि बढेको छ । सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्ने व्यवस्था रहेको छ । ट्रेकिङ मौसम सुरु भएसँगै जिल्लाका विभिन्न भागका पर्यटन व्यवसायी लुक्ला पुगेका छन् ।
केही दिनअघि मौसममा खराबी आएको भए पनि पुनः मौसममा सुधार आएकाले व्यवसायी खुसी भएका छन् । मौसम सुरुसँगै पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायतका ठाउँमा रहेका होटलमा पनि चहलपहल सुरु भएको छ ।