काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल, संयुक्त अरब इमिरेट्स (यूएई) र पपुवा न्युनिगीबीच हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको टिकट माइ–पे डिजिटल वालेटबाट बुकिङ गर्न सकिने भएको छ ।
खेलको टिकटिङ पार्टनर रहेको माइ–पे डिजिटल वालेटले डिजिटल टिकट खरिदमा २० प्रतिशत छुटको ब्यवस्था समेत गरेको छ । माइ–पेका अनुसार टिकटको मूल्य एक सय ५० रूपैयाँ निर्धारण गरेकोमा माइ–पे डिजिटल वालेटमर्फत डिजिटल खरिदमा टिकटको मूल्य एक सय २० रूपैयाँ मात्रै निर्धारण भएको हो ।
खेल आगामी फागुन २५ गतेदेखि टीयू क्रिकेट मैदान कीर्तिपुरमा सञ्चालन हुँदै छ । माइ–पेले डिजिटल टिकटलाई प्रोत्साहन गर्नका लागि टिकटमा छुटको व्यवस्था गरेको माइ–पेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले जानकारी दिए ।
पछिल्ला खेलहरूमा नेपाली क्रिकेट दर्शकहरूको उत्साहजनक सहभागिता रहेकाले त्यसलाई निरन्तरता दिन सस्तो मूल्यको टिकट र त्यसमा पनि छुटको ब्यवस्था गरेको माइ–पे ले जनाएको छ । माइ–पेले सम्पूर्ण नेपाली क्रिकेट समर्थकलाई टीयू क्रिकेट मौदान पुगेर नेपाली खेलाडीलाई समर्थन र हौसला प्रदान गर्न समेत आह्वान गरेको छ ।