काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाको आइतबार बसेको सञ्चालक समितिको एक सय ६८औँ बैठकले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट २५ करोड ६५ लाख ६७ हजार चार सय रूपैयाँ लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
संस्थाका सेयरधनीहरूलाई गत आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजी एक अर्ब ७३ करोड ९४ लाख ४० हजारको १४ दशमलव ७५ प्रतिशत अर्थात् २५ करोड ६५ लाख ६७ हजार चार सयबराबरको नगद लाभांश (कर प्रयोजनसहित) नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भई वित्तीय संस्थाको आगामी पाँचौँ वार्षिकसाधारणसभाबाट पारित भएपश्चात् लागू हुनेगरी वितरण गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।
संस्था स्थापना भएको पाँच वर्ष पूरा गरेसँगै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको दाबी गरेको छ । संस्थाले ७४ जिल्लामा दुई सय ८७ वटा शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आइरहेको छ । संस्थाले कार्यक्रम विस्तार गर्दा लघुवित्तको पहुँच नपुगेको दुर्गम स्थानीय तहहरूलाई प्राथमिकतामा राखेको छ ।
यस आव २०७९/८० को दोस्रो त्रैमासको अन्त्यसम्ममा वित्तीय संस्थाले कुल दुई लाख तीन हजार आठ सय ६२ विपन्न परिवारमा लघुवित्त सेवा प्रदान गरेको छ ।