काठमाडौं,नेपाल राष्ट्र बैंकले नगदरहित कारोबारलाई प्रोत्साहन गरेकै कारण पछिल्लो समय नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या बढेको देखिएको छ । सरकारकै आग्रहमा नेपाल राष्ट्र बैंकले नगदरहित कारोबारलाई प्रोत्साहन गर्दा डिजिटल भुक्तानी गर्ने माध्यमहरु फोन पे, इसेवा, प्रभु पे, ग्लोबल आईएमई पेलगागतका कम्पनीहरुले डिजिटल भुक्तानीसम्बन्धी सेवा उपलब्ध गराउँदै आएका छन् । यसले गर्दा पनि पछिल्लो समय नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या बढेको हो ।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको पुस मसान्तसम्ममा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ६१ वटा संस्थाहरुमा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको कुल संख्या एक करोड ६२ लाख १२ हजार चार सय ६८ रहेको थियो ।
तर चालू आवको पुस मसान्तसम्ममा भने सञ्चालनमा रहेका २२ वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीहरुमा रहेको कुल मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकको संख्या बढेर दुई करोड ५३ हजार चार सय २० पुगेको छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा ३८ लाख ४० हजार नौ सय ४२ ले बढी हो । गत आवको पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुमा मात्र एक करोड ४३ लाख ६३ हजार एक सय ६५ जना मोबाइल बैंकिङ प्रयोगकर्ताहरु रहेका थिए । तर अहिले यो संख्या ३१ लाख आठ हजार छ सय ३३ ले बढेर कुल मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या एक करोड ७४ लाख ७१ हजार सात सय ९८ पुगेको छ ।
राष्ट्र बैंकका अनुसार विकास बैंकहरुमा भने चालू आवको पछिल्लो अवधिमा कुल मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकको संख्या २४ लाख ५२ हजार २८ पुगेको छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा छ लाख ७४ हजार तीन सय ३२ ले बढी हो । गत आवको सोही अवधिमा भने विकास बैंकहरुमा १७ लाख ७७ हजार छ सय ९६ जना मोबाइल बैंकिङ प्रयोगकर्ताहरु रहेका थिए । फाइनान्स कम्पनीहरुमा भने चालू आवको पछिल्लो अवधिमा कुल मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या एक लाख २९ हजार पाँच सय ९४ पुगेको छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा ५७ हजार नौ सय ८७ ले बढी हो । गत आवको सोही अवधिमा भने फाइनान्स कम्पनीहरुको कुल मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या ७१ हजार छ सय सात मात्र रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो अवधिमा डेबिट कार्ड प्रयोगकर्ताहरुको संख्या भने एक करोड २२ लाख २२ हजार तीन सय ८७ पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरुमा एक करोड १४ लाख ९४ हजार सात सय ९०, विकास बैंकहरुमा छ लाख ७६ हजार पाँच सय ५९ र फाइनान्स कम्पनीहरुमा ५१ हजार ३८ रहेको छ । गत आवको सोही अवधिमा भने डेबिट कार्ड प्रयोगकर्ताहरुको कुल संख्या ९८ लाख ५५ हजार दुई सय २१ रहेको थियो । जसमध्ये वाणिज्य बैंकमा ९३ लाख ९९ हजार पाँच सय २५, विकास बैंकहरुमा चार लाख १७ हजार आठ सय ४६ र फाइनान्स कम्पनीहरुमा ३७ हजार आठ सय ५० रहेको थियो ।
बैंकिङ प्रणालीमा क्रेडिट कार्ड प्रयोगकर्ताहरुको संख्या भने चालू आवको पछिल्लो अवधिमा दुई लाख ७६ हजार ८९ पुगेको छ । जसमध्ये वाणिज्य बैंकमा दुई लाख ७५ हजार नौ सय ४२ र विकास बैंकहरुमा एक सय ४७ रहेको छ । गत आवको सोही अवधिमा भने वाणिज्य बैंकहरुमा मात्र दुई लाख १५ हजार एक सय ९९ वटा क्रेडिट कार्ड प्रयोगकर्ताहरु रहेका थिए ।