काठमाडौं । निर्णायक तहमा महिलालाई पनि समान अवसर र सहभागिता गराउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
एक सय १३औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले आज जोरपाटीमा आयोजना गरेको ‘राष्ट्रको शान स् महिला अधिकारको सम्मान’ विषयक विचार गोष्ठीका वक्ताले कानुनमा गरिएका समान अवसर र सहभागिताका व्यवस्था कार्यान्वयन गरिनुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा सांसदद्वय सन्तोष चालिसे र शान्ति श्रेष्ठ, अख्तियार दुरुपोग अनुसन्धान आयोगका आयुक्त डा. सुमित्रा अमात्य श्रेष्ठ लगायतले महिला अधिकारका लागि समान अवसर र सहभागिता आधारभूत मान्यता भएकाले सोको कार्यान्वयन हुनुपर्ने बताए । राससका अनुसार समाजमा भ्रष्टाचारमुक्त आचरणको विकासका लागि महिलाको भूमिका महत्वपूर्ण हुने उनीहरुको भनाइ थियो ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख दीपककुमार रिसाल, शान्ति समाजका सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, गोकर्णेश्वर नगरपालिकाका पूर्व नगर उपप्रमुख शान्ति नेपाल, शान्ति समाजका पूर्वसभापति होमकान्त चौलागाईं, आचार्य महेन्द्र भट्टराईलगायतले महिलालाई समान अधिकारका लागि घर–घरबाट अभियान सुरु गर्नुपर्ने धारणा राखेका थिए।
कार्यक्रममा शान्ति समाज काठमाडौँका सभापति भगवान पुडासैनी र सचिव प्रमोद फुँयालले जिल्ला शाखाले सबैको अधिकार सुनिश्चितताका लागि आवाज उठाउने गरेको जानकारी दिएका छन् ।