काठमाडौं । नेपालका एक मात्र डलर अर्बपति एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीको कम्पनी सीजी हिल्स प्रालिविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । सीजी हिल्सले सरकारी जग्गा अधिग्रहण गरेर निजी व्यवसाय सञ्चालन गरेको भन्दै सामाजिक अभियन्ता तारा बराल, सुरेश थापा, परमेश्वर थापालगायतले सीजी हिल्सलाई विपक्षी बनाएर उच्च अदालत पाटनमा रिट दर्ता गराएका हुन् ।
चौधरीको उक्त हिल्सले ललितपुरको तत्कालीन सैंबु गा.वि.स. वडा नं. ६ घ कित्ता नं. ६५ को सरकारी जग्गा कित्ताकाट गरी बाटो बनाएको छ । मालपोत कार्यालय, नापी कार्यालय समेतको संलग्नतामा सरकारी जग्गालाई नै कित्ताकाट गरी कित्ता नं. ६५ लाई कित्ता नं. १६८, १६९ र १७० बनाई कित्ता नं. १६८ बाट सरकारी बाटो भनी बाटो खोलेर सीजी हिल्सले प्रयोग गरेको रिटमा उल्लेख छ । रिटमा सरकारी सम्पत्तिको दुरुपयोग गरेकोले सो बाटो खोल्ने सम्बन्धित मालपोत कार्यालय, नापी कार्यालय समेतको निर्णय बदर गर्न माग गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुर, भूमिसुधार तथा मालपोत कार्यालय ललितपुर, ल.पु.जि.ल.पु.म.न.पा.वडा नं. ८ को वडा कार्यालय, नापी कार्यालय ललितपुर, संगिता थापा तथा सीजी हिल्सलाई विपक्षी बनाएर दायर गरिएको रिटमा एउटै कित्ताको सरकारी जग्गा व्यक्तिको जसरी मन्त्रिपरिषद्ले मात्र टुक्र्याउने निर्णय गर्न सक्ने अधिकारको बर्खिलाप गर्दै मालपोत कार्यालय, नापी कार्यालय, वडा कार्यालय तथा जिल्ला प्रशासन कार्यालयको समेत निर्णयमा कित्ताकाट गरी बाटो बनाई सीजी हिल्सले मात्र प्रयोग गरेको छ । सो जग्गा कित्ताकाट गर्नेदेखि बाटो खुलाउनेसम्मको सम्पूर्ण निर्णयहरु बदर गरी पुनः कि.नं. ६५ नै बनाई बाटो बन्द गर्न समेत रिटमा माग गरिएको छ ।