काठमाडौँ । नयाँ बानेश्वरको संसद भवनमा बिहीबार भएको मतदान सकिएसँगै राष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ। नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिको चुनावी दौडमा रहेका छन् ।
राष्ट्रपति निर्वाचनमा कुल ८३१ मत खसेको थियो । बिहीबार बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म मतदान भएको थियो । मतदानमा कुल ८८४ जना मतदाता रहेकामा संघीय संसदतर्फ १५ जना तटस्थ रहे भने २ जना सांसद भने सञ्चो नभएका कारण अनुपस्थित रहे ।
दुईजना सांसद मध्ये एकजना निलम्बित रहेका छन् भने अर्का एक जना सांसद फरार रहेका कारण मतदानमा सहभागी हुन सकेनन । यस्तै रवि लामिछानेको एउटा पद रिक्त रहेको र अर्का एक जना सांसदको मृत्यु भएको अवस्था छ । त्यस्तै प्रदेशतर्फ ५५० मध्ये ५१८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।