काठमाडौं । गत फागुन १६ गते सरकारले ७ सहसचिवको जिम्मेवारी हेरफेर गरेको थियो । गृह मन्त्रालयमातहत रहेका सहसचिवहरुको व्यवस्थापन गर्दा अध्यागमन विभागमा सहसचिव झलकराम अधिकारीलाई महानिर्देशक बनाइयो । केही दिनअघि मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट गृह मन्त्रालयमा सरुवा भएका उनी राजस्व अनुसन्धान विभागका महानिर्देशक थिए ।
उनी राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदा घुस असुलीमा कीर्तिमान रचेपछि अख्तियारको कारबाहीको निशानामा परेका थिए । उनको पछाडि अख्तियार यसरी लागेको थियो कि अधिकारीले जुन रेष्टुरेन्टमा खाजा खाए पनि अख्तियारले उक्त रेष्टुरेन्टसँग सीसीटीभी फुटेज नै मगाएर अध्ययन गरेको थियो ।
उनी विभागमै कार्यरत रहँदा राजदरबारको उत्तरी ढोकास्थित भिन्नोलिभा हस्पिटालिटी नामक रेष्टुरेन्टमा एक विवादास्पद रिचार्जकार्ड तस्करसँग डिल गर्दै गरेको सीसीटीभी फुटेज समेत अख्तियारले मगाएको थियो । तर, उक्त फुटेज मगाएपछि अख्तियारले केही कारबाही भने गरेको छैन ।
उक्त दिन अधिकारीले २६ हजार एक सय २३ रुपैयाँको खानपिन गरेको आर्थिक दैनिकलाई प्राप्त बिल भौचरमा देखिएको छ । उक्त बिल उनले आफूले तिरेका होइनन् । भिन्नोलिभा हस्पिलिटीका एक कर्मचारीका अनुसार उक्त बिलबापतको भुक्तानी दिपेन्द्र विष्टको बैंक एकाउन्टबाट प्राप्त भएको छ ।