काठमाडौं । काठमाडौं महानगरपालिका-२८ स्थित त्रि-चन्द्र कलेज अगाडि सडकमा बा.६५ प. ५६०८ नम्बरको मोटरसाइकल शुक्रबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर सडानन्द नगरपालिका-११ घर भएका २२ वर्षीय सुजल हातुहाङ राई रहेका छन् । उक्त मोटरसाइकलले पैदयात्रीलाई ठक्कर दिई भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका एकजना पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी, सल्यान, त्रिबेणी गाउँपालिका-६ शंखमुल चोकस्थित सडकमा लु.२ ख. १२२२ नम्बरको बसले रा.५ प. ३०४८ नम्बरको मोटरसाइकललाई बिहीभार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक छत्रेश्री गाउँपालिका-३ पाल्लेखोला बस्ने १९ वर्षीय अजय ओलीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै, सर्लाही, हरिवन नगरपालिका-५ स्थित सडकमा ना.६ त. ८४४ नम्बरको ट्याक्टरको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने सिंहेश्वर शर्माको छोरा १२ वर्षीय ओम शंकर शर्माको बिहीबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी,सिरहा, बरियारपट्टी गाउँपालिका-३ स्थित सडकमा प्र.२-०१-००१ प. ००५२ नम्बरको मोटरसाइकल सोही ठाउँस्थित त्रिशुला खोलाको पुलबाट करिब ५० फिट तल खसेर बिहीबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा मोटरसाइकलमा सवार सिरहा नगरपालिका-१८ बस्ने ४४ वर्षीय सरुन यादव र सोही ठाउँ बस्ने ४२ वर्षीय नथुन यादव रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।