काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त अधिराज्य बेलायतकी हिन्दप्रशान्त सहायकमन्त्री एन्नी म्यारी ट्रेभिल्यानले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार शिष्टाचार भेटवार्ता गरेकी छिन् ।
भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि उनी बुधबार नेपाल भ्रमणका क्रममा हुनमानढोका दरबार क्षेत्रमा नेपालस्थित बेलायती दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी भएकी थिइन् ।
उनले बिहीबार अरुण जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गरेकी थिइन् । उक्त परियोजनामा बेलायतले लगानी बोर्डमार्फत आर्थिक लगानी गरेको छ । बुधबार नेपाल भ्रमणमा आएकी राज्यमन्त्री ट्रेभेलियन शुक्रबार स्वदेश फर्कंदै छिन् ।