काठमाडौं । शंखरापुर नगरपालिकाका मेयर रमेश नापितको शारीरिक एवं मानसिक हिंसामा परेकी उनकी श्रीमती सरिता नापित महर्जनलाई राष्ट्रिय महिला आयोगले सेफ हाउसबाट निकालेर विचल्ली बनाएर छाडेको छ । हिंसापीडित सरितालाई महिला आयोगले बयानका लागि साँखुस्थित घरबाट गत १६ गते मंगलबार बोलाएको थियो ।
झण्डै दुई घण्टाको बयानपछि उनलाई एक जना विदेशी नागरिकद्वारा सञ्चालित शुभअवसर ग्राम नामको सेफ हाउसमा पठाएको थियो । पीडित सरिताले श्रीमान् रमेशले आफूलाई घरबाट निकाल्न खोजेको भन्दै आफू घरबाहिर आएर बयान नदिने अडान लिएकी थिइन् । तर आयोगका अधिकारीहरूले बयानका लागि आउनै पर्ने दबाव दिएर बरु आफूहरूले घर पु-याइदिने बचन दिएका थिए ।
तर उनीहरूले त्यो नगरी सरितालाई सिनामंगलमा रहेको उक्त सेफ आउसमा पठाएका थिए । त्यसको नौ दिनपछि बिहीबार सेफ हाउसका अधिकारीले सरितालाई महिला आयोगमा लगेर छाडिदिएका थिए । गत १६ गते आयोगका चमेला भट्टराई, तुलसा कटवाल वर्षा ढकाल र पार्वतीलगायतका अधिकारीहरूले बयान लिएका थिए ।
बयान लिएर साँखुस्थित निवास नपठाई सेफ हाउस पठाएका आयोगका अधिकारीहरूले २५ गते आयोगमा झिकाएर जता गए पनि जाऊ भनेर अलपत्र पारेर छाडिएका छन् र आफूहरूले अब केही पनि गर्न नसक्ने भनी पन्छिएका छन् ।
यसअघि मेयर नापितले श्रीमती सरितालाई दुई/तीन लाख रुपैयाँ लिएर घरबाट निकाल्न समेत केही व्यक्तिहरूमार्फत प्रस्ताव पठाएका थिए । सरिताले उक्त प्रस्ताव नमानेपछि मेयर नापितले श्रीमति सरितामाथि सिलसिलेवररूपमा भौतिक हिंसा गरेका थिए ।
आफूलाई बेवास्ता गरेपछि आयोगमा पुनः न्याय दिन माग गर्दै पुगेकी पीडित सरितालाई आयोगकी चमेला भट्टराईले कुनै पनि हालतमा आफूहरूले मेयरजस्तो ठूलो व्यक्तिसँग छानबिन तथा सोधपुछ गर्न अब नसक्ने भन्दै घर जान सुझाएको थियो ।
न्याय दिनुपर्ने आयोगले नै गैरजिम्मेवारी अभिव्यक्ति दिएपछि आयोगमा नै अनशन बस्ने बताएकी पीडित सरितालाई अनसन मात्र होइन जे गरे पनि आफूहरूले ठूलो मान्छेविरुद्धको उजुरीमा केही गर्न नसक्ने बताएको छ ।