काठमाडौं । लघुवित्त बचाऔँ भन्दै लाखौँ महिलाहरूले विराटनगरमा शान्तिपूर्ण -याली निकालेका छन् । लघुवित्तले पु-याएको सकारात्मक सहयोग तथा ग्रामीण क्षेत्रमा वित्तीय पहुँचलाई कायम राख्नु पर्दछ । यसको विरुद्धमा गरिने संघर्षका भ्रमपूर्ण कार्यक्रमहरू तत्काल बन्द हुनु पर्दछ भनी लघुवित्त संरक्षण तथा प्रवद्र्धन समितिको अगुवाइमा मोरङ जिल्लाभरिबाट लघुवित्तलाई बचाऊ अभियानमा एकजुट भएर ‘लघुवित्त हाम्रो घर हो, घर भाँड्न पाइँदैन, लघुवित्तरूपी वृक्षको रक्षा गरौँ, गरिबहरूको वित्तीय पहुँच हुनुपर्छ’ भन्ने नाराका साथ विराटनगर हाटखोलामा भेला भएर विराटनगर नगरक्षेत्रभित्र देवकोटा चोक, सिद्धार्थ चोक, हनुमान मन्दिर, अतिथि सदन, गोल्छा चोक, जिल्ला प्रशासन कार्यालय हुँदै पुनः हाटखोलमा आई कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा विभिन्न महिलाहरूले कार्यक्रमको विषयमा आफ्नो विचार व्यक्त गर्दै, लघुवित्तले सिकाएको सीपले हामीले आफ्नो जीवन चलाएका छौँ, छोराछोरीलाई पढाएका छौँ, श्रीमान्हरू समेतलाई रोजगारी सिर्जना गराएका छौँ, उद्यमी बनेका छौँ । त्यसैले गाउँ–गाउँमा आई सेवा दिने लघुवित्त हाम्रो लागि चाहिन्छ, यसलाई बचाई राख्नु पर्दछ, भन्दै उनीहरूले आफ्नो भनाइ राखेका थिए ।