काठमाडौं। आइतबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४औँ साधारण सभा समुद्घाटन समारोहलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रलाई नोक्सान हुनेगरी निर्माण व्यवसायीले गरेका कामको उपेक्षालाई टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन् ।
मन्त्री श्रेष्ठले निर्माण व्यवसायीहरुले जिम्मा लिएको काम समयमै सम्पन्न नगर्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले निर्माण व्यवसायीहरुले सम्झौता अनुरुपको काम नगरेर उपेक्षा गरेका छन् भने आफू टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए । उनले काममा उपेक्षा भएमा आवश्यक कारबाही गरिने पनि बताए ।
मन्त्री श्रेष्ठले समयमै निर्माण सम्पन्न नगर्ने कम्पनीहरुसँग ठेक्का रद्द गर्नसक्नेतर्फ पनि सचेत गराए । उनले निर्माण व्यवसायीलाई परेको समस्या समाधानका लागि आफु जुन कुनै मन्त्रालयसँग समन्वय गर्ने भन्दै निर्माण व्यवसायीहरुले पनि जिम्मा लिएको काम सम्झौता अनुरुप समयमै पूरा गर्ने संकल्प गर्नुपर्ने बताए ।