दोलखा । दोलखा चेम्बर अफ कमर्सको आयोजनामा भएको १० दिने दोलखा महोत्सव आइतबार सकिएको छ । महोत्सवमा चार करोड रुपैयाँबराबरको कारोबार भएको आयोजकले जनाएको छ ।
गत फागुन १९ गते उद्घाटन गरिएको महोत्सवको आइतबार समापन गरिएको हो । महोत्सवको समापन बागमती प्रदेशका सभामुख भुवन पाठकले गरेका थिए । कार्यक्रममा उनले दोलखामा धार्मिक तथा सांस्कृतिक पर्यटकहरूमा व्यापाक मात्रामा भित्र्याउन सकिने बताए । यस्तै यहाँको जल, जमिन र जडीबुटीको सही सदुपयोग गरे आर्थिकरूपमा समेत देशकै धनी जिल्ला हुने बताए । शनिबार समापन गरिने गरी महोत्सवको आयोजना गरिएको भए पनि अवलोकनकर्ताहरूको मागका आधारमा एक दिन महोत्सवको समय थप गरिएको दोलखा चेम्बरका अध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए । उनका अनुसार महोत्सवको दोलखा, रामेछाप र सिन्धुपाल्चोकका करिब ५० हजार जनाले अवलोकन गरेका थिए । यस्तै महोत्सवमा एक सय २० वटा स्टलहरू राखिएको थियो ।
दोलखा महोत्सव दोलखा चेम्बर अफ दोलखाको मुख्य आयोजना तथा घरेलु विकास साना उद्योग, भीमेश्वर नगरपालिकाको सहआयोजना सम्पन्न भएको हो । महोत्सवलाई विभिन्न संघसंस्थाले प्रायोजक गरेका थिए । महोत्सवमा दोलखालाई चिनाउने पञ्चेबाजा समूहबीच प्रतियोगिता, खैजेडी भजन समूहबीच प्रतिस्पर्धा, विभिन्न जातजातिबीच सांस्कृतिक प्रतियोगिता आयोजना गरिएको थियो । यस्तै राष्ट्रिय तथा स्थानीय कलाकारहरूले मनोरञ्जन दिलाएका थिए । महोत्सवमा आर्थिक बहस, रोबोट प्रदर्शन, कम्प्युटर एसोसिएसनको सहयोगमा निःशुल्क मर्मत शिविर तथा साइबर सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो ।