काठमाडौं । सोमबार दिउँसो १ बजे नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाउने कार्यक्रम रहेको छ। शपथलगत्तै राष्ट्रपति भण्डारीले नवनिर्वाचित राष्ट्रपति पौडेललाई राष्ट्रपतिको आसन सुम्पने कार्यक्रम छ।
राष्ट्रपति भण्डारीको पाँच वर्षे कार्यकाल आइतबार सकिएको हो। २०७४ साल फागुन २९ गते उनी दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्। नेपालको संविधान घोषणापछि २०७२ कात्तिक ११ गते उनी पहिलो पटक राष्ट्रपति भएकी थिइन्।
नयाँ राष्ट्रपति पौडेलले पदभार सम्हालेपछि सोमबार दिउँसो नै भण्डारी आफ्नो निवासमा सर्ने कार्यक्रम छ। ‘उहाँ आजै निवास सर्नुहुन्छ,’ राष्ट्रपति भण्डारीका सूचना तथा सञ्चार विज्ञ टीका ढकालले बताए ।
नयाँ राष्ट्रपति पौडेल सोमबार निजी निवासबाट शितल निवास सर्ने तयारीमा छन्। पौडेल बोहराटारस्थित निवासमा बस्दै आएका थिए।