काठमाडौं, चैत ७
मेगा बैंक नेपाल लिमिटेडले धरानमा महिला उद्यमीहरूलाई वित्तीय साक्षरता तथा ब्याज अनुदान महिला उद्यमशिल कर्जासम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको छ । साना तथा मझौला उद्यमी महासंघसँग आबद्ध महिला उद्यमीहरूलाई बैंकले सुनसरीको धरानमा वित्तीय साक्षरता तथा ब्याज अनुदान महिला उद्यमशील कर्जाका बारेमा प्रशिक्षण कार्यक्रम गरेको हो । सामाजिक संस्थागत उत्तरदायित्वअन्तरर्गत बैंकले आयोजना गरेको कार्यक्रममा महिला उद्यमीहरूलाई बचत, बैंकिङ कर्जा, व्यावसायिक सफलतामा बैंकको महत्वका साथै मेगा बैंकले प्रदान गर्दै आएका विभिन्न सेवा सुविधाका बारेमा माइक्रो बैंकिङ विभागका प्रमुख पुण्य खनिया, मेगा बैंक प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु न्यौपाने, मेगा बैंक धरान शाखाका प्रबन्धक सविन श्रेष्ठलगायतले प्रशिक्षण दिएका थिए ।
यसैगरी, मेगाले विशेष प्राथमिकता दिएको ब्याज अनुदान महिला उद्यमशील कर्जाका बारेमा महिला उद्यमीहरूले निकै चासो लिएका थिए । महिला उद्यमीहरूलाई अत्यन्तै आकर्षक रहेको यो कर्जामा सेवा शुल्क मिनाहा गरिएको छ भने छ प्रतिशत ब्याज अनुदानको व्यवस्था गरिएको छ । यसैगरी, आधार दरमा थप दुुई प्रतिशत मात्रै ब्याज तिरे पुग्ने हुँदा महिला उद्यमीहरू यस कर्जाप्रति आकर्षित भएका मेगा बैंकका माइक्रो बैंकिङ प्रमुख खनियाले बताए ।