विराटनगर । प्रदेश १ लाई ‘कोशी प्रदेश’ नामकरण गरेसँगै उक्त नाम खारेज गर्नुपर्ने मागसहित पहिचानवादी संघसंस्थाले आइतबार प्रदेशभर आम हड्ताल आह्वान गरेका छन् ।
सुनसरीको धरान र झापाको दमक, बिर्तामोडमा बाहेक अन्य ठाउँहरुमा आम हडताल त्यति कडा नभएको सुरक्षा स्रोतले बताएको छ । राजमार्गहरुमा ठूला र सार्वजनिक सवारी साधन नचले पनि निजी क्षेत्रका सवारी साधन आंशिक रुपमा चलेका थिए । बन्द गर्नेहरुले केही ठाउँमा फाट्टफुट्ट प्रदर्शन गरे पनि खासै प्रभावकारी नदेखिएको बताइएको छ ।
प्रदेश १ को पुनः नामकरण गरी कोशी प्रदेश रहँदा पनि आन्दोलनकारीको चित्त नबुझेर फेरि नामकरण गर्नुपर्ने उनीहरुको माग छ । प्रदेशको नाम ‘कोशी’ खारेज गरेर पुनः नामकरण गर्नुपर्ने भन्दै संघर्ष समितिले आन्दोलन गरे पनि साझा नाम के हुने भन्ने विषयमा आन्दोलनकारी नै विभाजित छन् ।
बन्द गराउने क्रममा झापाको दमकबाट किरात लिम्बुवान प्रदेश अभियानको संयोजक प्रेमदिप थाम्सुहाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दमक नगर अध्यक्ष याम लोरिङ्देन लगायत १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दमक बन्द गराउने क्रममा प्रहरीसँग डेढ घण्डा जति मुठभेड भएपछि केहि नेताहरु पक्राउ परेका छन् । झापाकै बिर्तामोडमा जसपाको केन्द्रीय सदस्य कुमार साम्यो, प्रदेश सदस्य गौरिमान राई, सामी पालुङ्वा, मित्र लिङ्देन लगायतलाई प्रहरीले पक्राउ गरेको छ । त्यसैगरी झापाकै काँकडभिट्टाबाट ओपप्रकाश खापुङ, श्रवण मेचेलगायतलाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।