काठमाडौं । नेपालका प्रतिष्ठित जुत्ता चप्पल कम्पनीहरुको सहभागितामा राजधानीको भृकुटीमण्डपमा ‘बृहत् जुत्ता चप्पल व्यापार मेला’ सुरु भएको छ । मेलामा शिखर सुज, प्राइड स्वदेशी जुत्ता, वान वल्र्ड, बोस सुज, भेनस सुज, फुट स्टेप, रन सुज, हिमानी सुज र बाम्बो ब्राण्डको सहभागिता रहेको आयोजक तथा रन शुजका प्रबन्धनिर्देशक रुद्र न्यौपानेले जानकारी दिए ।
ब्रान्डेड र बलियो जुत्ता चप्पल विशेष छुटसहित सस्तो मूल्यमा ग्राहकलाई उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गरिएको उनले बताए । ‘हामीले ग्राहकको भावनालाई राम्रोसँग बुझेका छौँ’, उनले भने, ‘एक थलोमा धेरै ब्राण्डका जुत्ताहरु ग्राहकले आफ्नो आवश्यकताअनुसार रोजी रोजी खरिद गर्ने अवसर हामीले प्रदान गरेका छौँ ।’ मेलामा विवाहका सिजनलाई लक्षित थरिथरिका पार्टीसुजसमेत उपलब्ध हुने उनले जानकारी दिए । गर्मी सिजन सुरु हुनलागेकाले त्यही सिजनलाई लक्षित जुत्ताचप्पल मेलामा राखिएको बेम्बो सुजका सविन कार्कीले बताए ।
‘मेलामा दुई सय ५० रुपैयाँदेखिका चप्पल र पाँच सय रुपैयाँदेखिका जुत्ता उपलब्ध हुनेछन्’, उनले भने । मेलामा नेपालमा चलेका प्रतिष्ठित ब्राण्डका जुत्ताचप्पल एउटै छानामुनि छानेर किन्ने अवसर उपभोक्ताले पाउनेछन् । मेलामा महिला र पुरुष दुवैका लागि हुने एक हजारभन्दा बढी मोडलका जुत्ताचप्पल उपलब्ध हुनेछन् । मेलामा पार्टी, स्पोर्ट्स, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, गम बुटलगायत सबै प्रकारका जुत्ताचप्पल छन् ।