काठमाडौँ । नेकपा एकीकृत समाजवादीले तीनवटा मन्त्रालय नछोड्ने दाबी गरेको छ । एकीकृत समाजवादीका उपाध्यक्ष रहेका नेता राजेन्द्र पाण्डेले अब हुने मन्त्रिमण्डल पुनर्गठनमा आफ्नो पार्टीले तीनवटा मन्त्रालय पाउने गरी गठबन्धनको बैठकमा दाबी गर्ने बताएका छन् ।
माओवादीले प्रधानमन्त्री, कांग्रेसले राष्ट्रपति पायो र जसपाले उपराष्ट्रपति पाउने गरी हामी लागेका छौ । ‘यस्तो अवस्थामा हामीले पनि रोजेको मन्त्रालय पाउनुपर्छ’ नेता पाण्डेले भने ‘अर्थ, गृह र भौतिक योजनाजस्ता मन्त्रालयमा हाम्रो स्वतः दाबी रहन्छ । हामी तीनभन्दा कम मन्त्रालय लिएर सरकारमा जाँदैनौ ।’
प्रमुख पदहरूमा हामीले कांग्रेस, माओवादी र समाजवादीलाई सहयोग गरेका छौ त्यसकारण हामीले मन्त्रालय रोज्न पाउनुपर्छ’, पाण्डेले भने । अरूले छोडेका मन्त्रालयमा आफ्नो पार्टीले चित्त नबुझाउने उनले बताए । उनले एकीकृत समाजवादीबाट कसलाई सरकारमा पठाउने भन्ने कुरा चैत ५ गते सचिवालय बैठक बसेपछि मात्र निर्णय गर्ने बताए ।