विराटनगर । उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठीले ऊर्जा बचतको उपायहरू खोजी गर्नसके वार्षिक लाखौँ रकम बचत हुने बताएका छन् ।
उद्योग संगठन मोरङ र नेपाल उद्योग वाणिज्य महासंघको सयुक्त आयोजनामा भएको उद्योगीहरूका लागि अभिमुखीकरण कार्यक्रममा उनले उद्योगहरूले प्रत्यक्ष र अप्रत्यक्षरूपमा खेर गइरहेको ऊर्जाको व्यवस्थापनका साथै यथार्थपरक ऊर्जा बचतको उपायहरू खोजी गर्नसके लाखौँ रकम बचत हुने बताएका हुन् । कार्यक्रममा उनले उद्योगहरूको बढ्दो उत्पादन लागत घटाउन खेर गइरहेका ऊर्जाको समूचित व्यवस्थापन गरी हाल प्राप्त ऊर्जाबाट बढीभन्दा बढी उत्पादकत्व लिन उद्योगी व्यवसायीहरू केन्द्रित हुनुपर्नेमा जोड दिए । कार्यक्रममा जीआईजेडका कम्पोनेन्ट म्यानेजर सञ्जय गोर्खालीले ऊर्जा उपभोगका सन्दर्भमा आगामी दिनहरूमा आउन सक्ने नीतिलाई ध्यानमा राखी सोहीअनुरूपको ऊर्जा बचतका विधिहरू अपनाउन आग्रह गरे । उनले जीआईजेडले निजी क्षेत्रका उद्योग व्यवसायलाई कानुनी र संस्थागतरूपमा सहयोग पु¥याउने गरी कार्ययोजना तयार गरिरहेको पनि जानकारी दिए ।
कार्यक्रममा जीआईजेडका वरिष्ठ ऊर्जा दक्षता विशेषज्ञ ज्ञानेन्द्र उपाध्यायले उद्योगको उत्पादन लागतमा ऊर्जाको मूल्य न्यूनीकरणका लागि उद्योगीहरूलाई इनर्जी अडिट गर्न सुझाव दिए । उनले त्यसबाट उद्योग प्रतिष्ठानले खपत गरिरहेको ऊर्जाको मापन गरी न्यूनीकरणका उपाय अवलम्बन गरेका उद्योगहरूको प्रतिस्पर्धी क्षमता अभिवृद्धि हुुने बताए । कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक होमराज भट्टराईले वाणिज्य बैंकले ऊर्जा दक्षता कार्यक्रम लागू गर्ने उद्योगहरूका लागि बैंकले गरेका व्यवस्थाका बारेमा जानकारी दिएका थिए ।