काठमाडौँ । गण्डकी प्रदेशको कास्की निर्वाचन क्षेत्र नं ३ (२) का प्रदेशसभा सदस्य प्रकाश बरालले नयाँ बानेश्वरस्थित संसद भवनबाट शुक्रबार उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन्।
उनी गत चुनावमा कास्की ३ (ख) बाट निर्वाचित भएका थिए । आफ्ना पिता लोकराज बरालको निधनमा क्रियामा बसेका बरालले शुक्रबार पोखराबाट हवाई जहाजमार्फत यहाँ आएर मतदान गरेका हुन्। उनी आजै दिउँसो पोखरा फर्कँनेछन्। उनको बुवाको निधन भएको आज शुक्रबार आठ दिन भएको छ ।
निर्वाचनमा नेकपा (एमाले) की अष्टलक्ष्मी शाक्य, जनमत पार्टीकी ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार रहेका छन्।
मतदान दिउसो तीन बजेसम्म हुनेछ । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरू हुने र आजै साँझ ६ बजेसम्म मतपरिणाम सार्वजनिक गरिने बताइएको छ।