अमेरिका । संयुक्त राज्य अमेरिकाले सामाजिक सञ्जाल टिकटकलाई स्वामित्व बदल्न अन्यथा प्रतिबन्धको सामना गर्न चेतावनी दिएको छ । यसले छोटा भिडियो सामग्री पस्किँदै आएको टिकटक अमेरिकामा प्रतिबन्धित हुने सम्भावना बढेको छ ।
टिकटकको स्वामित्व चिनियाँ कम्पनी बाइटीडान्ससँग छ । अमेरिकाले सोही कारण राष्ट्रिय सुरक्षामा खतरा हुनसक्ने बताउँदै आएको छ । दशौँ लाख अमेरिकीको डेटा असुरक्षित भएको भन्दै अमेरिकाले स्वामित्व परिवर्तन गर्न टिकटकलाई भनेको बीबीसीले उल्लेख गरेको छ । कम्पनीले स्वामित्व परिवर्तन गरे पनि आफ्नो डेटा प्रवाह वा पहुँचमा परिवर्तन नहुने उल्लेख गरेको छ ।
अमेरिकी अधिकारीहरुले वर्षौँदेखि यसप्रति ध्यानाकर्षण गराउँदै आएका छन् । उनीहरुले चीन सरकारको पहुँचमा अमेरिकी नागरिकको डेटा पुग्ने बलियो सम्भावना रहेको बताउँदै आएका छन् । तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सुरुमा टिकटकलाई प्रतिबन्धको चेतावनी दिएका थिए ।