काठमाडौं । इन्ट्रानेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा हुनलागेको पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’को फिल्ड अडिसन काठमाडौंमा हुने भएको छ ।
शनिबार र आइतबार सामाखुसी कपुरधारास्थित नवोदित कलेजमा फिल्ड अडिसन हुने आयोजकले जनाएको छ । अडिसन दिन आउँदा प्रतियोगीहरुले आफ्नो उमेर खुलाएको आधिकारिक कागज लिएर आउनुपर्ने हुन्छ । फिल्ड अडिसनबाट चुनिएका प्रतियोगीहरुले काठमाडौंमा आएर स्टुडियो अडिसनमा सहभागी हुनेछन् । डिजिटल अडिसनमा सहभागी भएका प्रतियोगीहरुले पनि अनिवार्य रुपमा फिल्ड अडिसनमा सहभागी जनाउनुपर्नेछ । यी दुई शोहरु नेपालको अहिलेसम्मकै सर्वाधिक धनराशी भएको रियालिटी शोहरु हुन् ।
फाउन्डेसनका अनुसार दुवै रियालिटी शोका विजेताहरुले एक करोड नेपाली रुपैयाँ पुरस्कार पाउनेछन् । साथै फर्स्ट रनरअपले ३० लाख नेपाली रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख नेपली रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, ‘डान्स युनिभर्स’को सांस्कृतिक समूह विधाको विजेताले पनि २० लाख रुपैयाँ पाउनेछन् । उक्त विधाका फस्र्ट रनरअपले १० लाख रुपैयाँ र सेकेन्ड रनरअपले पाँच लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।