काठमाडौं । आर्थिक क्रियाकलाप बढाउने लक्ष्यका साथ ललितपुरको गोदावरी नगरपालिकामा प्रथम गोदावरी महोत्सव आयोजना हुने भएको छ । गोदावरी नगरपालिकाको संरक्षकत्व तथा गोदावरी उद्योग वाणिज्य संघको आयोजना र इभेन्ट सोलुसन प्रालिको व्यवस्थापनमा आगामी चैत २९ गतेदेखि वैशाख ३ गतेसम्म ५ दिने गोदावरी महोत्सव २०२३ आयोजना हुन लागेको हो ।
नेपाली नयाँ वर्ष २०८० र गोदावरी नगरपालिका स्थापना दिवसको अवसरमा ‘आर्थिक समृद्धिका लागि संस्कृति’ भन्ने मूलनाराका साथ आयोजना गर्न लागिएको महोत्सवले गोदावरी नगरपालिकामा रहेका स्थानीय वस्तु, कला, संस्कृति, नवप्रवर्तक, विद्यमान एवं नवउद्यमीहरुलाई बजारीकरणका साथै पर्यटन प्रवद्र्धनमा टेवा पु-याउने विश्वास लिइएको छ । महोत्सवको मुख्य आकर्षणको रुपमा संस्थागत खरिदकर्ता र उत्पादकबीच भेटघाट, लगानीकर्ता र उद्यमीबीच छलफल, स्थानीय उत्सव, खेल उत्सव, साहित्य उत्सव, गोदावरी कन्क्लेभ रहनेछन् ।