काठमाडौं विकास बैङ्कको साझा संस्था ‘डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपाल’को नयाँ कार्यसमिति चयन भएको छ । सो संस्थाका अध्यक्षमा साङ्ग्रीला डेभलपमेण्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ चयन भएका छन्। आज सम्पन्न संस्थाको १७औँ वार्षिक साधारणसभाले कार्यसमितिका पदाधिकारी चयन गरेको हो । राससका अनुसार उपाध्यक्षमा महालक्ष्मी विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा, सचिवमा सिन्धु विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरी, कोषाध्यक्षमा लुम्विनी विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहरा चयन भएका छन्। त्यस्तै, सदस्यमा साइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, ज्योति विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र एक्सल डेभलपमेण्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत डा इन्द्र कट्टेल चयन भएका छन्। नवनिर्वाचित अध्यक्ष सुयोग श्रेष्ठले विकास बैङ्कको हक र हितका लागि कार्य गर्न लागिपर्ने प्रतिवद्धता जनाए। आजका विकास बैङ्क व्यसायका दृष्टिकोणबाट हिजोका बाणिज्य बैङ्कजस्तै रहेको बताए । कूल ९० वटा विकास बैङ्क घटेर १७ मा आइपुग्दा पनि बजार हिस्साका हिसाबले पहिले जति नै कायम राख्नु सक्नु आजका विकास बैङ्कको उपलब्धि भएको उनको भनाइ छ ।