काठमाडौं । जिल्ला प्रशासन कार्यालय मोरङले कोशी प्रदेश नामकरणको विरोध प्रदर्शन रोक्न निषेधाज्ञा जारी गरेको छ। कोशी प्रदेश नामाकरणको विरोधमा आइतबार बृहत प्रदर्शन गर्ने पहिचान पक्षधरहरूको तयारी छ। त्यसैलाई रोक्न प्रशासनले निधेषाज्ञा जारी गरेको हो।
आइतबार बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म विराटनगरका केही स्थानहरूमा प्रशासनले निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताएका छन्।
प्रशासनले निषेधित क्षेत्र कायम गरिएका स्थानहरु यसप्रकारका छन् :-
१. प्रदेश सभा ( पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोकसम्मको क्षेत्र,
२. मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय ( रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्मको क्षेत्र,
३. मुख्यमन्त्री निवास( वरिपरि ३०० मिटर सम्मको क्षेत्र,
प्रदेश प्रमुखको कार्यालय तथा निवास ( वरिपरि ३०० मिटर सम्मको क्षेत्र र
४. जिल्ला प्रशासन कार्यालय मोरङ ( डाँफे चोक देखि पूर्वको क्षेत्रसम्म निषेधाज्ञा लगाएको हो।
गत फागुन १७ गते बसेको प्रदेश सभाको बैठकले कोशी प्रदेश नाम दुई तिहाइ बहुमतले पारित गरेको थियो। त्यसयता पहिचान पक्षधरले विरोध प्रदर्शन गर्दै आएका हुन्। उनीहरुले दुई पटक हड्ताल र बन्द समेत गरिसकेका छन्।