विराटनगर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन विराटनगरका दुई क्याम्पसमा अनिश्चित भएको छ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले नर्सिङ कलेजमा र नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ ।
चैत ५ गते आइतबार त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन तोकेको हो । तर नेविसंघले शुक्रबार बेलुका नर्सिङ कलेजमा र अनेरास्ववियुले शनिबार बिहान महेन्द्र मोरङमा तालाबन्दी गरेका छन् ।
निर्वाचनको सबै तयारी भइसेको अवस्थामा तालाबन्दी भएको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका प्रमुख बाबुराम तिम्सिनाले बताए । ‘बुथ बनाइसकेका छौं, मतपत्र छापिसकिएको छ, निर्वाचनको सबै तयारी भइसकेको छ’, उनले भने, ‘आज तालाबन्दी भयो, बार्ताबाट सहमति भयो भने चुनाव हुन्छ ।’
विद्यार्थीको चुनाव भएकाले क्याम्पस प्रशासनले सहजीकरण गर्न सक्ने बताउँदै उनले सहमति गर्न आग्रह गरे । ‘बुथ बनिसको छ । चुनावका लागि धेरै खर्च भइसकेको छ’, उनले भने, ‘हामीले मात्रै रिस्क लिएर गर्न गाह्रो छ । वातावरण बन्यो भने चुनाव हुन्छ ।’
महेन्द्र मोरङको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघबाट जसवन्त पौडेल, अनेरास्ववियुबाट नवीन पहाडी र अखिल क्रान्तिकारीबाट रोहित यादव उम्मेदवार रहेका छन् । नर्सिङ कलेजमा विद्यार्थीलाई कलेज प्रशासनले धम्की दिएको भन्दै तालाबन्दी गरेको नेपाल विद्यार्थी संघले जनाएको छ ।