वीरगञ्ज । कृष्णा फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकप २०७९ को उपाधि वीरगन्ज युनाइटेड क्लब वीरगन्जले उचालेको छ । परवानीपुर खेल मैदानमा भएको फाइनल प्रतियोगितामा जनकपुर स्पोर्ट क्लब जनकपुरलाई हराउँदै वीरगन्ज युनाइटेड क्लब वीरगन्जले उपाधि उचालेको हो ।
प्रतियोगितामा जनकपुर स्पोर्ट क्लब जनकपुरलाई शून्य–पाँच गोलअन्तरले पराजित गर्दै वीरगन्ज युनाईटेड क्लब वीरगन्जले उपाधि उचालेको आयोजक परवानीपुर युथ क्लबका महासचिव दिपक यादवले बताए । प्रतियोगितामा विजेता वीरगन्ज युनाइटड क्लब वीरगन्जले एक लाख ५० हजार नगद शिल्ड तथा मेडल प्राप्त गरेको थियो ।
विजेतालाई प्रदेशसभा सदस्य जितेन्द्र सोनारले पुरस्कार वितरण गरेका थिए । यस्तै उपविजेता जनकपुर स्पोर्ट क्लब जनकपुरले ७५ हजार नगद शिल्ड तथा मेडल पाएको छ । उपविजेतालाई परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री कुर्मीले पुरस्कार वितरण गरे ।
खेलको म्यान अफ दि म्याच वीरगन्ज युनाइटड क्लब वीरगन्जका चतुरधन चौधरीले र म्यान आफ दि सिरिज अभिशेख चौधरीले पाए । प्रतियोगितामा वीरगन्ज युनाइटेड क्लब वीरगन्जका विकाश चौधरीले बेस्ट डिफेन्डर, दिलमणी चौधरी बेस्ट गोलकिपरको पुरस्कार पाएका हुन् ।