काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत ६ गते अर्थात् आज सोमबार पुनः २३ अर्ब ८३ करोड रुपैयाँबराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही फागुन २९ गते पनि राष्ट्र बैंकले १५ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
राष्ट्र बैंकका अनुसार जारी मिति चैत ८ गते बुधबार तोकिएको टे«जरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने उक्त ट्रेजरीहरु क्रमशः २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको पाँच अर्ब ५३ करोड, एक सय ८२ दिने अवधिको चार अर्ब ३० करोड र तीन सय ६४ दिने अवधिको नौ अर्ब रुपैयाँबराबर छ । जसमध्ये २८ दिनेको २०८० वैशाख पाँच गते, ९१ दिनेको २०८० असार ५ गते, एक सय ८२ दिने अवधिको २०८० असोज २ गते र तीन सय ६४ दिने अवधिको २०८० चैत ६ गते परिपक्व हुने अवधि तोकिएको छ । राष्ट्र बैंकका अनुसार आज बिक्री हुुने ती टे«जरी बिलहरुमा तीन सय ६४ दिने अवधिको सात अर्ब रुपैयाँको ट्रेजरी नयाँ छ भने बाँकी सबै पुरानो नवीकरणअन्तर्गतको छ ।
यसअघि अर्थात् गत साता पनि राष्ट्र बैंकले २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको पाँच अर्ब र तीन सय ६४ दिने अवधिको पाँच अर्बबराबरको टे«जरी बिल जारी गरेको थियो ।