काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारीविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ । सरकारी स्रोतबाट प्राप्त भएको रकम दुरूपयोग गरी गलत प्रतिवेदन बनाई भ्रष्टाचार गरेको अभियोगमा आयोगले कृषि ज्ञान केन्द्र कालिकोटका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित १२ जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
सरकारी अनुदानको पेश्की रकममा सम्झौताबमोजिम काम नगरी हिनामिना गरेको भन्ने उजुरीमाथि छानबिन गर्दा भ्रष्टाचार भएको फेला परेको आयोगले जनाएको छ । आयोगले तत्कालीन निमित्त कार्यालय प्रमुख भरतबहादुर बस्नेत, खाँडाचक्र नगरपालिका कालीकोटका तत्कालीन इन्जिनियर सुमित भट्ट, खानेपानी तथा ऊर्जा विकास कार्यालयका तत्कालीन सव इन्जिनियर गुरुराज सज्यालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो । उनीहरूविरुद्ध आयोगले ६६ लाख ५० हजार रुपैयाँबराबरको बिगो दाबी गरेको छ । यस्तै, मूल्यांकन समितिका पदाधिकारी हरिप्रसाद पण्डित श्रीधर अधिकारी, दीपकुमार भण्डारी, हीरानन्द देवकोटा, अनुप तिवारी, पूर्णबहादुर थापा र होमनाथ लम्सालले कुनै वस्तुनिष्ठ आधार तयार नभएको र निमित्त कार्यालय प्रमुख बस्नेतले पेस गरेको प्रतिवेदन सदर गरी भ्रष्टाचार गरेको आरोप लागेको छ ।
यस्तै, आयोगले सिमनाथ कृषि विकास सहकारी संस्था कालीकोटका अध्यक्ष कमलबहादुर शाही र कोषाध्यक्ष सुरेन्द्रबहादुर शाही र सहकारी संस्थाविरुद्ध पनि ६६ लाख ५० हजार रुपैयाँबराबरको बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।