सोलुखुम्बु । माथिल्लो सगरमाथाका जिल्लाका नागरिकले अब सवारी अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । ओखलढुंगाको रुम्जाटरमा स्थापना गरिएको यातायात व्यवस्था कार्यालयबाट आइतबारदेखि ट्रायलको सुरुवात गरेसँगै माथिल्लो सगरमाथाका जिल्लाका नागरिकलाई सहज भएको हो ।
ओखलढुंगाबाट लाइसेन्स वितरणका लागि ट्रायल सेवाको कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । मुख्यमन्त्री कार्कीले अब नागरिकलाई घरआँगनमै सेवा दिनेगरी सेवा सुरु भएकाले सकेसम्म सुविधा लिन नागरिकलाई आग्रह गरे । सवारी लाइसेन्स, दर्ता, नवीकरणलगायतका सबै काम ओखलढुंगाबाट हुनेगरी कार्यालय स्थापना भएपछि यस क्षेत्रका सेवाग्राहीलाई सहज भएको छ । यसअघि यातायातसम्बन्धी सामान्य कामका लागि पनि प्रदेश नम्बर २ को लहान वा संघीय राजधानी काठमाडौं पुग्नुपर्ने बाध्यता थियो । ओखलढुंगामा यातायात कार्यालय सञ्चालन भएपछि ओखलढुंगा, सोलुखुम्बु, खोटाङ र उदयपुरका नागरिकको वर्षौँदेखिको बाध्यता हटेको छ । कार्यक्रममा यातायात व्यवस्था कार्यालयका कर्मचारी, जनप्रतिनिधि स्थानीयलगायतको उपस्तिथिति थियो ।