काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माण व्यवसायीहरूलाई आफूले जिम्मा लिएको निर्माणको काम गुणस्तरीय र भरपर्दो रूपमा तोकिएकै समयमा गर्न सुझाव दिएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा राष्ट्रपति पौडेलले निर्माण व्यवसायीहरूको समस्याहरूबारे जानकार रहेको उल्लेख गर्दै व्यवसायीहरूलाई निरुत्साहित हुन नदिन आफूले आवश्यक समन्वय गर्ने समेत प्रतिबद्धता जनाए । मुलुकमा विकासको लागि सबै मिलेर काम गर्नुपर्ने उनको भनाइ थियो । ‘अब हामीलाई पछाडि फर्कने छुट छैन, सबैको सहकार्यमा नेपाललाई समृद्धि बनाउनैपर्छ’, उनले भने । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले व्यवसायीमैत्री ऐन–कानुनको अभावमा विगतमा व्यवसायीहरूले धेरै झमेला सामना गर्नुपरेको बताए । सार्वजनिक खरिद नियमावलीको १२औँ संशोधनका कारण भने निर्माण उद्योगमा केही सुधार देखिएको अध्यक्ष सिंहले जानकारी दिए । पछिल्लो समय राज्यले व्यवसायीहरूलाई भुक्तानी नदिँदा निर्माण उद्योगमा धेरै समस्या देखिएको विषयमा अध्यक्ष सिंहले राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराएका थिए । यस्तै महासंघले आगामी मंसिर ४ देखि ८ सम्म काठमाडौंमा हुने ४६औँ इफाप्का सम्मेलनको उद्घाटनका लागि राष्ट्रपति पौडेललाई आमन्त्रण गरेको छ । महासंघ प्रतिनिमिण्डलमा अध्यक्ष सिंहका साथ महासंघका सल्लाहकारहरू यक्षध्वज कार्की,जयराम लामिछाने, विरेन्द्रराज पाण्डे, निवर्तमान अध्यक्ष विष्णुभाइ श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी.), उपाध्यक्षद्वय रामजी पन्त ‘मुकेश’, बालकृष्ण थापा, महासचिव रोशन दाहाल, उपमहासचिव (नीतिगत) शिवहरि घिमिरे, कोषाध्यक्ष हिरणकुमार श्रेष्ठ, कार्य समिति सदस्य सुशील कुमार श्रेष्ठ, कार्यालय प्रमुख प्रेम सिंह ऐर र उपनिर्देशक निर्मल अर्याल रहेका थिए ।