काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले राष्ट्रिय आविष्कार केन्द्रलाई रु. ६३ लाख ९ हजार बराबरको सहयोग सामग्री हस्तान्तरण गरेको छ ।
सामाजिक साझेदारीको अवधारणाअन्तर्गत एनआरएनएले गोरखा भूकम्पपछिको पुनःनिर्माणका क्रममा सुरु गरेको लाप्राक बस्ती विकास आयोजनाका लागि खरिद गरिएका निर्माण उपकरण, औजार र सवारी साधन केन्द्रलाई सहयोगस्वरुप हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण गरिएका उपकरण एवं सामग्री आविष्कार केन्द्रको वीरगञ्जस्थित कृषि औजार कारखाना लिमिटेडको पुनःस्थापनाका लागि प्रयोग गरिनेछ । सो अवसरमा सङ्घका कार्यकारी अध्यक्ष रविना थापाले नेपालका वैज्ञानिक तथा समाजसेवी महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रको स्थापनासहित मुलुकमा वैज्ञानिक अनुसन्धान, सूचना–प्रविधि तथा समाजका अन्य क्षेत्रमा राष्ट्रको उन्नति र सम्वर्द्धनका लागि पु-याएको योगदानको प्रशंसा गरे ।एनआरएनएले प्रदान गरेका ती उपकरणले प्रविधि र विज्ञानका क्षेत्रमा अतुलनीय योगदान पु-याइरहेको आविष्कार केन्द्रलाई मद्दत पुग्ने आशा राखेको उनको भनाइ थियो ।
उक्त अवसरमा संघका कार्यकारी अध्यक्ष रबिना थापाले नेपालका वैज्ञानिक तथा समाजसेवी महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रको स्थापनासहित मुलुकमा वैज्ञानिक अनुसन्धान, सूचना–प्रविधि तथा समाजका अन्य क्षेत्रमा राष्ट्रको उन्नति र संवद्र्धनका लागि पु-याएको योगदानको प्रशंसा गरे । एनआरएनएले प्रदान गरेका ती उपकरणले प्रविधि र विज्ञानको क्षेत्रमा अतुलनीय योगदान पुर्याइरहेको रहेको आविष्कार केन्दलाई मद्दत पुग्ने आशा राखेको उनको भनाई थियो ।
संस्थापक पुनले सङ्घले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको बताए ।कृषिप्रधान देश भए पनि कृषि औजार बनाउने कारखाना नै तीन दशकदेखि बन्द रहँदा आफूलाई केही गर्नैपर्छ भन्ने महसुस भएकाले पनि वीरगञ्जस्थित कृषि औजार कारखाना पुनःसञ्चालनको योजना अघि सारेको पुनको भनाइ थियो ।
उक्त योजनामा सङ्घले सहयोगका लागि अग्रसरता देखाएकामा पुनले खुसी व्यक्त गर्नुभयो । देशैभरिका किसानले आविष्कार केन्द्रबाट ठूलो अपेक्षा राखेकाले पनि कृषि औजार कारखाना पुनःस्थापनाका लागि आफू अहोरात्र खटिरहेको उनको भनाइ थियो ।
समुदायको हितका लागि खरिद गरिएका सामग्री समुदायलाई नै हस्तान्तरण गर्ने मनशायसहित आविष्कार केन्द्रलाई सहयोग गरिएको सङ्घले जनाएको छ । राष्ट्रिय आविष्कार केन्द्रको सहयोगका लागि ‘मेक इन नेपाल’ र ‘स्थानीय नवप्रवर्तन’ को अवधारणाअन्तर्गत सङ्घ तथा सङ्घका अभियन्ताले व्यक्तिगतरुपमा आर्थिक सहयोग गर्दै आएका छन् ।