विराटनगर । भन्सार प्रतिनिधिसँगको सेटिङमा भन्सार जाँचपासलाई प्रमाणीकरण गरेका विराटनगर भन्सारका तत्कालीन भन्सार प्रमुखलाई अर्थ मन्त्रालयले सरुवा गरेको छ । हाल विराटनगर भन्सारको प्रमुखमा भन्सार विभागमा रहेका ज्ञानेन्द्रराज ढकाल नियुक्त भएका छन् ।
अर्थ मन्त्रालयले एउटै प्रकरणमा प्रमुख भन्सार अधिकृतलाई मात्रै सरुवा गरेर भन्सार जाँचपासमा संलग्न भन्सार प्रतिनिधिलाई भने अहिलेसम्म कुनै कारबाही नगरी उन्मुुक्ति दिएको छ । चीनबाट आयात गरेको जुत्ता र रेडिमेड गार्मेन्टका सामान भन्सार जाँचपास गर्ने क्रममा भन्सार प्रतिनिधि शरण खरेलसँगको मिलेमत्तोमा तत्कालीन भन्सार प्रमुखले करोडौँ राजस्व छली गरी सेटिङमा सामन जाँचपास गराएको आरोप लागेको छ ।
उक्त राजस्व छली प्रकरणमा भन्सार प्रतिनिधि खरेलले भन्सार जाँचपास गर्ने क्रममा भन्सार एजेन्ट ईश्वर केसीको एजेन्ट नम्बर ४२३ को लगइन प्रयोग गरेर माल जाँचपास गरेका थिए । राजस्व छली प्रकरणमा ती भन्सार एजेन्ट र उनका विराटनगर भन्सार प्रतिनीधि पनि कारबाहीको भागिदार भएको स्थानीयको भनाइ छ । तर अनुसन्धानको दायरामा ल्याउनुपर्ने भन्सार प्रतिनिधि खरेललाई भन्सार विभागले नै उन्मुक्ति दिने प्रयास गरेको उनीहरूको आरोप छ । पछिल्लो समय खरेलले एजेन्ट नम्बर ४२३ छोडेर भन्सार विभागमा भर्खरै मात्र दर्ता भएको मनिसा ओलीको एमएस क्लियरिङको लगइन नम्बर ७९७ बाट विराटनगर भन्सारमा प्रतिनिधि भई भन्सार जाँचपासमा संलग्न हुन थालेका छन् ।