काठमाडौं । कोशी प्रदेश नामांकन खारेजीको मागसहित चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सशस्त्र प्रहरीको लाठी प्रहार तथा अश्रुग्यास प्रहारबाट घाइते धरान–१५ का पदम लिम्बू (लाजेहाङ)को मृत्यु भएको छ । टाउकोमा चोट लागेका उनको धरानस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीवार राति मृत्यु भएको हो । विराटनगरको प्रदर्शनमा सशस्त्र प्रहरीले आन्दोलनकारीमाथि निषेधित क्षेत्र नजिक अश्रुग्यास प्रहार गरेको थियो । साथै हवाई फायर गरेको प्रहरीसँग दोहोरो भिडन्तका बेला लाठीचार्जमा घाइते भएका लिम्बूको टाउकोमा गम्भीर चोट लागेको मृतकका आफन्तले बताएका छन् । उनी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सहकमाण्डर हुन् । मञ्च प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिको एक प्रमुख घटक हो ।