काठमाडौं । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट १ सय ४४ केजी गाँजासहित कैलाश गाउँपालिका-९ नामटार बस्ने ३० वर्षीय शुबचन्द्र भोम्जनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले चितवनबाट पूर्व राजबिराजतर्फ जाँदै गरेको ना.६ ख. ३०२१ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा लुकाई छिपाई ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी ट्रक चालक भोम्जनलाई पक्राउ गरेको हो ।
यसैगरी, सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-१३ छतौनि बस्ने ४१ वर्षीय भोला यादवलाई ६ केजी गाँजासहित गएराति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हनुमाननगर र बिओपी पोष्ट बर्साईन टिकुलियाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यस्तै, सर्लाही, पर्सा गाउँपालिका-३ नारायणपुरबाट ९ केजी ७ सय ग्राम गाँजा बिहीबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी नारायणपुरबाट खटिएको गस्ति टोलीलाई देख्नासाथ अपरिचित व्यक्तिले बोरा फाली फरार भएपश्चात बोरा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको हो । हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी, कञ्चनपुर, भिमदत्त नगरपालिका-६ ऐठपुर शिवटोल डेरा गरी बस्ने डडेलधुरा आलिताल गाउँपालिका-५ घर भएकी २२ वर्षीया सिमा थापा मगर र २२ वर्षीय राजु बोहरालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ मिलिग्रामसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा नेपाल प्रदेश प्रहरी कार्यालय लागूऔषध नियन्त्रण सेल महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै, झापा, मेचिनगर नगरपालिका-६ स्थित मेचिपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्रामसहित सोही नगरपालिका-७ राधा कृष्ण टोल बस्ने ५० वर्षीया जमुना राजवंशीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।