काठमाडौं । यससाता सेयरबजार परिसूचक एक हजार नौ सय १५ दशमलव १४ विन्दुमा कायम रहेको छ । यसैगरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ६१ दशमलव शून्य एक विन्दुमा सीमित हुन पुगेको छ ।
यससाता धितोपत्र बजारमा दुई सय ६६ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार एक लाख २० हजार दुई सय २७ पटकको कारोबारमा एक करोड ६५ लाख ३६ हजार एक सय ४५ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम पाँच अर्ब ११ करोड ५२ लाख ८१ हजार पाँच सय ४५ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गतसाताको तुलनामा एक अर्ब रुपैयाँले कम हो ।
गतसाता भने धितोपत्र बजारमा दुई सय ६० वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार एक लाख ४१ हजार चार सय ६९ पटकको कारोबारमा एक करोड ८५ लाख ७८ हजार तीन सय ३५ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम छ अर्ब ३० करोड ८९ लाख ५७ हजार तीन सय २८ रुपैयाँ पुगेको थियो । यससाता नेप्सेको नियमित कारोबार कक्ष सातामा चार कार्यदिन मात्र खुला रहेको थियो । जसमध्ये पहिलो, चौथो र पाँचौ दिन ओरालो लागेको बजार परिसूचक दोस्रो दिन भने उकालो लागेको थियो । तेस्रो दिन भने सार्वजनिक बिदा परेका कारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो ।
पहिलो दिन बजार परिसूचक छ दशमलव ९० अंकले ओरालो लागेर एक हजार नौ सय २६ दशमलव ४० विन्दुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ पनि एक दशमलव ५२ अंकले ओरालो लागेर तीन सय ६३ दशमलव २६ बिन्दुमा झरेको थियो । दोस्रो कारोबार दिन भने बजार परिसूचक २२ दशमलव ६५ अंकले उकालो लागेर एक हजार नौ सय ४९ दशमलव छ विन्दुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ९५ उकालो लागेर तीन सय ६६ दशमलव २१ बिन्दुमा चढेको थियो । तेस्रो कारोबार दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा परेका कारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो । चौथो कारोबार दिन भने बजार परिसूचक पुनः १५ दशमलव ७६ अंकले ओरालो लागेर एक हजार नौ सय ३३ दशमलव २९ विन्दुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३० अंकले ओरालो लागेर तीन सय ६३ दशमलव ९१ विन्दुमा झरेको थियो । पाँचौँ कारोबार दिन पनि बजार परिसूचक १८ दशमलव १५ अंकले ओरालो लागेर एक हजार नौ सय १५ दशमलव १४ विन्दुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ९० अंकले ओरालो लागेर तीन सय ६१ दशमलव शून्य एक विन्दुमा झरेको थियो ।
यससाता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा एनआईसी एसिया बैंक, हिमालयन डिस्ट्रिलरी प्रालि, शिवम् सिमेन्ट, नेपाल टेलिकम आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यससाता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।