काठमाडौं । प्रभु बैंक लिमिटेडले विद्यार्थीलाई बैंकिङ साक्षरता प्रदान गरेको छ । बैंकले ‘ग्लोबल मनी वीक’ कार्यक्रमअन्तर्गत विद्यार्थीलाई बैंकिङ साक्षरता प्रदान गरेको जनाएको छ ।
ललितपुरको प्रसादी एकेडेमीमा कक्षा ११ मा अध्ययनरत एक सय जना विद्यार्थीलाई बैंकिङ साक्षरता प्रदान गरेको हो । उनीहरूलाई बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा अवलोकन भ्रमण गराउनुको साथै बैंकिङ साक्षरता प्रदान गरिएको थियो ।
विद्यार्थीलाई चारवटा समूहमा विभाजन गरेर बैंकको प्रधान कार्यालयको अवलोकन गराउनुको साथै बैंकबाट सञ्चालन÷सम्पादन हुने विभिन्न क्रियाकलापहरूको बारेमा जानकारी गराइएको थियो । उनीहरूलाई बैंकको प्रधान कार्यालय बबरमहलअन्तर्गतका विभिन्न विभागको स्थलगत अवलोकन र विभागीय प्रमुखहरूसँग साक्षात्कार समेत गराइएको प्रभु बैंकका सिनियर नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेले बताए ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेलले बैंकले सम्पादन गर्ने कामका बारेमा विद्यार्थीलाई जानकारी गराएका थिए । त्यस अवसरमा विद्यार्थीलाई कापी, कलमलगायत शैक्षिक सामग्री समेत प्रदान गरिएको थियो ।