काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरु मन्त्री हुन आधा दर्जन भन्दा बढी आकांक्षी छन् । वर्तमान सरकारमा बढीमा तीन जना मन्त्री पाउने सम्भावना छ। उपाध्यक्षहरू बेदुराम भुसाल, राजेन्द्र पाण्डे र उपमहासचिव प्रकाश ज्वाला पार्टीको नेतृत्व गरेर सरकारमा जान चाहेका छन्।
चैत ५ गतेसम्म वेदुराम एकीकृत समाजवादीका महासचिव थिए। घनश्याम भुसाललाई चैत ५ गते महासचिव बनाउँदा वेदुराम भुसाललाई सरकारमा पार्टीको तर्फबाट नेतृत्व गरेर जाने आश्वासन पार्टी अध्यक्ष माधवकुमार नेपालले दिएको बताइएको छ ।
एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार भुसालकै नेतृत्वमा सरकारमा जाने सम्भावना धेरै छ । उपमहासचिव प्रकाश ज्वाला भने पार्टीको तर्फबाट नेतृत्व नपाए पनि सरकारमा जान तयार छन्।
हाम्रो पार्टीबाट बेदुराम भुसाल, राजेन्द्र पाण्डे र प्रकाश ज्वालामध्ये एकजनाले पार्टीको नेतृत्व गर्नुहुन्छ। त्यो कुरा पक्का जस्तै हो,’ उनले भने ,‘प्रतिनिधि सभा र राष्ट्रिय सभाका सबै सांसदहरूले दाबी गर्नु स्वाभाविक हो। तर कसलाई पठाउने भनेर निर्णय भएको छैन।’
प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० जना सांसद छन्। एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले अहिलेसम्म सरकारमा पठाउने मन्त्रीको टुंगो नलागेको बताए। उनले आफूहरूले पाउने मन्त्रालयको संख्यासमेत तय नभएको बताए।