काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेस ८ मन्त्रालय लिएर सहभागी हुने तयारीमा छ । संघीय संसदमा पहिलो दल कांग्रेसमा मन्त्रीका आकाङ्क्षीको लाइन लामो भएको हुँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मन्त्री छनोटमा सन्तुलन मिलाउन गाह्रो परेको छ ।
कांग्रेसमा गुटगत सन्तुलन मिलाएर मन्त्री बनाउने परम्परा रहँदै आएको छ । अहिले पनि देउवालाई शेखर कोइराला, गगन थापा समूहलाई भाग दिनुपर्ने बाध्यता छ । शेखर, गगन समूहले ३ मन्त्रालयको दाबी गरेको छ । आफूसँगै रहेका प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला र शशांक कोइरालाको माग पनि देउवाले सम्बोधन गर्नुपर्ने छ ।
दीपक खड्कालाई मन्त्रीका लागि कोइरालाले देउवा समक्ष सिफारिस गरेका छन् । देउवा नेतृत्वको सरकार बन्दा मात्र आफू मन्त्री बन्ने कोइरालाले बताउने गरेका छन् । आफू मन्त्री नबनेको अवस्थामा प्रकाशमान सिंहले पनि राजन केसीलाई मन्त्री बनाउने चर्चा गरेका छन् ।
कांग्रेसमा प्रभावशाली मन्त्रालयको जिम्मेवारी सम्हाल्न पनि नेताहरुबीच हानाथाप छ । कांग्रेसले अर्थ मन्त्रालयमाथि निर्विकल्प दाबी राखेको छ । गठबन्धनको सरकारमा सानो दलले पनि महत्त्वपूर्ण मन्त्रालय दाबी गरेपछि देउवालाई आन्तरिक रूपमा मिलाउन सकस भएको छ । मन्त्रीका विषयमा छलफल गर्न सभापति देउवाले भोलि कार्यसम्पादन र संसदीय दलको संयुक्त बैठक बोलाएका छन् ।