काठमाडौँ । प्रधान सेनापति (महारथी) प्रभुराम शर्माले पदोन्नती भएका तीनजना सेनानीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
प्रधानसेनापति शर्माले जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच प्राविधिक सहायक रथी डा.अरुण शर्मालाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । नेपाल सरकार मन्त्रिपरिषद्को चैत ६ गतेको बैठकले शर्मालाई बढुवा गर्ने निर्णय गरेको थियो । पदोन्नति भएका शर्मा सैनिक स्वास्थ्य महानिर्देशनालय (सैनिक मेडिकल कोर) को महानिर्देशकमा नियुक्त पनि भएका छन् ।
उक्त अवसरमा, प्रधानसेनापति शर्माले प्राविधिक सहायक रथी दर्जामा पदोन्नती भएका एकजना प्राविधिक महा सेनानी र प्राविधिक महा सेनानी दर्जामा पदोन्नती भएका एक जना प्राविधिक प्रमुख सेनानीलाई पनि पदोन्नती भएको दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।
उक्त कार्यक्रममा रथी तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।