काठमाडौँ । गत पुस २२ गते निधन भएका सिरहाका सन्तोष कुमार यादवको शव अझै नेपाल ल्याउन सकिएको छैन् । उनको शव तीन महिनादेखि दुबईको अस्पतालमा अलपत्र अवस्थामा रहेको छ । शव नेपाल ल्याउनका लागि पहल गरिदिन मृतकको परिवारले विभिन्न निकायमा अनुरोध गर्दै आएको छ । तर, अहिलेसम्म कुनै निकास निस्किएको छैन ।
सिरहाको धनगढीमाई नगरपालिका कट्टीटोल घर भएका २७ वर्षीय सन्तोषलाई २०७८ साल कार्तिकमा बर्दिबास महोत्तरीका शम्भु ठाकुरले भिजिट भिसामा दुबई लैजाने प्रबन्ध मिलाएका थिए । दुबई पुगेर सुप्रिमो हस्पिटालिटी सर्भिसमा कार वासिङको काम गर्दै आएका थिए । काम गर्दै गर्दा एकाएक बेहोस भएर ढलेका उनलाई अस्पताल लगिएको थियो । केही दिनको उपचारपछि निको भएर उनी काममा पनि जानथालेका थिए ।
धिरेन्द्र यादव, मृतकका आफन्तका अनुसार उपचार गरेर केही दिन रेस्ट गरेर पुनः काममा फर्किए । तर, काम गर्दा गर्दै उनी फेरि ढले । त्यसपछि अस्पताल लैजाँदा उनको मस्तिष्कमा पानी जमेकाले अप्रेसन गर्नुपर्ने भनियो । कम्पनीले घर परिवारलाई कुनै जानकारी नै नदिएर उनको अप्रेसनका लागि गर्नुपर्ने एग्रिमेन्ट पेपरमा हस्ताक्षर गरेको धिरेन्द्रको भनाई छ ।
अप्रेसन गरेको चौथो दिनमा उनको मृत्यु भयो । के कति कारणले मृत्यु भयो परिवारलाई केही पनि जानकारी गराइएन धिरेन्द्रले भने। मृत्यु भएपछि उनको शव नेपाल ल्याउनका लागि घर परिवारले दुई महिना अगाडि वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए । त्यसपछि १६ फागुन २०७९ मा कन्सुलर सेवा विभागमा समेत उजुरी दिएका थिए । तर, अहिलेसम्म शव नेपाल ल्याउन नसकिएको धिरेन्द्रले बताएका छन ।
यता कन्सुलर सेवा विभागले दुबईमा यसबारे अनुसन्धान भइरहेकाले शव नेपाल ल्याउन ढिलाइ भइरहेको जनाएको छ । दुबई प्रहरीले अनुसन्धान गरिरहेको र त्यो अनुसन्धान नसकी शव नेपाल ल्याउन नसकिने विभागको भनाई छ ।