काठमाडौं । अंग्रेजी भाषामा मात्र गाडीको इम्बोस्ड नम्बर प्लेट जडान गर्ने निर्णयलाई सरकारले संशोधन गर्दै नेपाली र अंग्रेजी दुवै भाषामा लेख्ने भएको छ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठका अनुसार इम्बोस्ड नम्बर प्लेटमा लेखिएको अक्षर र अंक नभई गाडीको प्लेटमा टाँसिएको चिप्सको मेसिनले रिड (पढ्ने) गर्ने भएको कारण अब नम्बर प्लेटमा चाँडै देश र प्रदेशको नाम नेपालीमा लेख्न लागिएको हो । देश र प्रदेश नेपालीमा तथा नेपालको राष्ट्रिय झण्डा पनि प्लेटमा हुने भएपछि सबैले सहजै नयाँ प्लेट जडान गर्ने विश्वास गर्दै सरकारले उक्त बाटो लिन लागेको हो ।
अंग्रेजी भाषामा मात्र इम्बोस्ड नम्बर प्लेट जडान गर्ने कार्यमा रोक लगाउन माग गर्दै दायर भएको रिटलाई सर्वोच्च अदालतले २०७६ मंसिर २७ गते खारेज गरिदिएपछि सरकारले इम्बोस्ड नम्बर प्लेट वितरण र जडानलाई अनिवार्य गरेको थियो । तर, उक्त निर्णयप्रति सर्वसाधारण मात्र होइन ठूला दलका राजनीतिक नेताहरुले नै विरोध गरेपछि प्लेट जडान कार्य अलपत्र छ । सरकारले सरकारी र प्राइभेट तथा भाडाका गाडीलाई मिति तोकेर इम्बोस्ड जडान गर्न ताकेता गरे पनि त्यसले सार्थकता पाउनसकेको छैन ।
इम्बोस्ड नम्बर प्लेट जडान भएको अमेरिकामा गएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा नेतृत्वको टोलीले गरेको अध्ययनमा प्लेटमा देखिएको नम्बर नभई चिप्समा रेकर्ड गरिएको विवरण मेसिनले (रिड) अध्ययन गर्ने पत्ता लगाएपछि सरकारले प्लेटलाई दुई भाषामा बनाउन लागेको हो ।
‘केही दिनअगाडि भौतिक मन्त्रालयका सचिवसहितको टोली अमेरिका गएको थियो । त्यहाँ अध्ययनको क्रममा इम्बोस्ड नम्बर प्लेटमा लेखिएको अंक नभई चिप्समा रेकर्ड गरिएको विवरण मेसिनले रिड गर्ने पत्ता लगाएर आउनुभयो’, आफ्नो तीन महिना तीन दिने कार्यकालको बारेमा जानकारी दिन सोमबार भौतिक मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधान एवं भौतिकमन्त्री श्रेष्ठले भने, ‘सबै विवरण नेपालीमा लेख्न नसकिए पनि देशको नाम (नेपाल) र प्रदेशको नाम भने नेपालीमा लेख्ने प्रयास गरिरहेका छौँ । साथै इम्बोस्ड नम्बर जडान गर्दा लाग्ने शुल्क (पैसा) कम गर्नेबारे पनि गृहकार्य भइरहेको छ ।’
उक्त निर्णय गर्न प्रस्ताव लेख्ने काम भएको र नेपाल सरकारबाट निर्णय नभइसकेको कारण त्यसलाई नेपाली भाषामा इम्बोस्ड नम्बर लेख्ने र शुल्क कम गर्ने प्रयास र गृहकार्य भनिएको उपप्रधानमन्त्री श्रेष्ठको प्रस्टोक्ति थियो । ‘प्रस्ताव अगाडि बढाइएको छ । निर्णय भइसकेको छैन’, पत्रकारले सोधेको प्रश्नको उत्तर दिने क्रममा उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘बाहिर देखिने नम्बरभन्दा पनि चिप्समा रेकर्ड हुने विवरण मुख्य भएको कारण सरकारले नेपालीमा देश र प्रदेशको नाम लेख्नेछ । यसको बारेमा अब चाँडै निर्णय हुनेछ ।’
अहिले जडान भएका सबै इम्बोस्ड नम्बर प्लेटमा देशको तथा प्रदेशको नाम र अंक पनि अंग्रेजीमा छ । उक्त प्लेटमा गाडीको सबै विवरण समेटिएको चिप्स पनि छ । तर, उक्त चिप्स रिड गर्ने कुनै पनि गेट नेपालभर छैन । नयाँ नम्बर प्लेट परिवर्तन गर्दा यसअघि जडान भइसकेका गाडीका इम्बोस्ड नम्बर प्लेट पनि परिवर्तन गर्नुपर्नेछ । पहिला जडान भएको इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम नलेखी प्रदेशको अंक लेखिएको छ । नामकरण हुनुअघि प्रदेशको नाम एकदेखि सातसम्म थियो । अहिले सबै प्रदेशले नामकरण गरिसकेका छन् । सबै सवारीसाधनलाई एकरुपता दिनको लागि सरकारले नेपाली र अंग्रेजीमा प्लेट बनाएर जडान गर्ने कार्यलाई कडाइ गर्न लागेको हो ।
सरकारले इम्बोस्ड नम्बर प्लेटलाई नेपाली र अंग्रेजी भाषामा बनाउने र उक्त नम्बर रिड गर्ने गेट राख्ने कार्य पनि तत्काल थाल्ने भएको छ । पहिलो चरणमा नागढुंगा र मुड्खु भन्ज्याङमा त्यस्ता गेट बनाउने काम अगाडि बढेको भौतिक मन्त्रालयले जनाएको छ ।
गाडीको लाइसेन्सको अवधि दश वर्षे हुँदै
सरकारले सवारीसाधन चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरणको म्याद १० वर्षे बनाउने भएको छ । भौतिक मन्त्रालयका अनुसार त्यसका लागि सवारी तथा यातायात व्यवस्था ऐन संशोधनका लागि कानुन मन्त्रालयमा प्रस्ताव पठाइएको छ । अहिले प्रत्येक पाँच वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । नवीकरण गर्ने र नयाँ लाइसेन्स लिनेको भीडले गर्दा सरकारले समयमै काम गर्न नसकेपछि आलोचना हुँदै आएको छ ।
आठ महिनाभित्र तीनदेखि सात दिनभित्र नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दिने गरी काम थालेको पनि सोमबारको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । अहिले दैनिक छ हजार जनाले लाइसेन्स माग गरे पनि चार हजार मात्र प्रिन्ट हुने गरेको छ । अहिले नै करिब आठ लाख व्यक्तिले नवीकरण तथा नयाँ लाइसेन्सको प्रक्रिया पूरा गरेर बसेका छन् । ती लाइसेन्स आउटसोर्सबाट छपाइ गरेर दिन कानुन बाधक रहेको कारण सरकारले लाइसेन्स छाप्ने नयाँ मेसिन ल्याएर अहिले माग गरेका सबै लाइसेन्स वितरण गर्नेछ । त्यसपछि नवीकरण तथा नयाँ माग भएका लाइसेन्स तीनदेखि सातदिनभित्र छापेर दिन सकिने मन्त्रालयले जनाएको छ । लाइसेन्स छाप्ने नयाँ मेसिन ल्याउनको लागि सरकारले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ ।
अहिले सरकारले विदेश जाने कामदार एवं विद्यार्थी, शान्ति मिसनमा जाने सेना, प्रहरी र कूटनीतिज्ञलाई अनलाइन निवेदन दिएको तेस्रो दिनभित्र लाइसेन्स छापेर दिने गरेको छ ।