काठमाडौं । नवनियुक्त आईजीपी बसन्त बहादुर कुँवरले नेपाल प्रहरीभित्र विधिको स्थिति बसाउने प्रतिबद्धता जनाएको सेलाउन नपाउँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एक जना एसपीले बर्दीको दुरुपयोग गरेर गलत धन्दा गरेको थाहा भएको छ ।
सीआईबीका एसपी नवराज अधिकारीले सोमबार त्यस्तो हर्कत गरेका हुन् । नेपालका कुख्यात मिटरब्याजी महेश सिंहका सहयोगी प्रेम सिंह धामीलाई ५० हजार रुपैयाँ तुरुन्त सापटी नदिएको आरोपमा एसपी अधिकारीले व्यवसायी भीमसेन श्रेष्ठलाई मंगलवार बिहान सीआईबीमा उपस्थित हुन निर्देशन दिएका छन् । हालै मात्र चितवनबाट सरुवा भएर सीआईबीमा आएका एसपी अधिकारीले धामीको धन्दा धान्ने जिम्मा लिएको बताइन्छ ।
भृकुटीमण्डपको जग्गा लिज काण्डमा समेत मुछिएका धामी त्यसअघि ठगी काण्डमा समेत परेका थिए । ती धामीलाई तुरुन्त सापट नदिएको आरोपमा एसपी अधिकारीले बर्दीको दुरुपयोग गर्दै विनाउजुरी गलत व्यक्तिसँगको मिलेमतोमा व्यवसायीलाई डर, धाक, त्रास र धम्की दिएका हुन् ।