काठमाडौं । मिटर ब्याज पीडितसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ । केही दिनदेखि राजधानी काठमाडौँमै आएर आन्दोलन गरिरहेका मिटर ब्याज पीडितहरुका समस्या बुझ्न र उनीहरुसँग वार्ता गर्न सरकारले समिति पनि गठन गरेको हो ।
उक्त समितिमा गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा रहेका छन् । उक्त टोलीले पीडितहरूसँग प्रत्यक्ष भेटेर वार्ता गरी सोबारेमा प्रधानमन्त्रीलाई जानकारी गराउने कार्यक्रम छ ।
न्याय माग्दै महोत्तरीको बर्दिवासबाट पैदल हिँडेर मिटरब्याज पीडितहरु काठमाडौं आएका मिटरब्याजी पीडितहरुले आज बिहानैदेखि प्रदर्शन सुरु गरेका थिए । पीडितहरु आज बिहान प्रधानमन्त्री निवास बालुवाटारतर्फ जाँदै गर्दा प्रहरीले टङ्गालमा रोकेको थियो । पीडितका प्रतिनिधिहरुले भने आफूहरुलाई प्रधानमन्त्रीसँग भेटाइदिन आग्रह गरेकाले प्रधानमन्त्री दाहालले आजै मिटर ब्याज पीडितसँग भेट्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।