बर्लिन, चैत ११
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिने उद्देश्यले जर्मनीले घर तथा कार्यालयबाहेक अन्य स्थानमा दुई जनाभन्दा बढी भेला हुन नपाइने नियम लागू गरेको छ । यसैबीच जर्मनी चान्सलर एञ्जेला मार्केलको सम्पर्कमा आएका एक चिकित्सकलाई कोरोनाभाइरस संक्रमण भएको थाहा भएपछि मार्केल क्वारन्टाइन अर्थात् एकान्तवासमा बसेको उनका प्रवक्ताले बताए ।
कोरोनाभाइरस प्रकोप नियन्त्रणका लागि जर्मनीमा दुई जनाभन्दा धेरैको सार्वजनिक जमघटमा प्रतिबन्ध लगाएको हो । एक टेलिभिजनमा सम्बोधन गर्दै चान्सलर मार्केलले संक्रमणको दर घटाउन आफ्नै व्यवहार सबैभन्दा प्रभावकारी माध्यम भएको बताएका छन् । सार्वजनिक स्थानमा एक व्यक्ति अर्का व्यक्तिभन्दा डेढ मिटर, सकिन्छ भने दुई मिटरको दूरीमा रहनुपर्ने अनिवार्य गरिएको छ । कार्यालय वा चिकित्सककहाँ जान सकिने र स्वच्छ हावाका लागि एक्लै बाहिर निस्किन सकिने तर अन्य लगभग सबै सार्वजनिक जमघट प्रतिबन्धित गरिएको समाचारमा जनाइएको छ ।
चान्सलर मार्केलले टेलिभिजनमा सम्बोधन गरेको केही समयपछि उनको कार्यालयले उनी स्वयम् क्वारन्टाइनमा बस्ने निर्णय भएको जानकारी दिएको थियो । गत शुक्रवार उनलाई न्युमोनियाको खोप दिएका एक चिकित्सकमा कोरोनाभाइरस संक्रमण भएको पाइएपछि उनी आफैँ क्वारन्टाइनमा बस्नुपरेको हो । जर्मनीमा कोरोना भाइरस संक्रमणको कारण ९४ व्यक्तिको मृत्यु भएको छ । हाल २४ हजार ८ सय ७३ जना सङक्रमित रहेका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार २ सय ६६ उपचारपछि निको भएर घर फर्किएका छन् । रासस/एएफपी