काठमाडौं । स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्या ५२ लाखभन्दा बढी छ । अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको माघसम्म स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको कुल संख्या ५२ लाख ७५ हजार पुगेको हो । सो अवधिमा दर्ता भएका कुल करदातामध्ये व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता ३३ लाख ९७ हजार नौ सय १३ जना (६४.४ प्रतिशत), व्यावसायिक स्थायी लेखा नम्बर लिने १८ लाख ५२ हजार सात सय ६० जना (३५.१ प्रतिशत) र करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर २४ हजार तीन सय ५२ (०.५ प्रतिशत) छ । यसैगरी मूल्यअभिवृद्धि कर (भ्याट) मा दर्ता भएका करदाता तीन लाख पाँच हजार आठ सय पाँच र अन्तःशुल्कमा दर्ता हुने करदातको संख्या एक लाख १९ हजार पाँच सय ९६ पुगेको छ ।
चालू आर्थिक वर्षको माघसम्म स्थायी लेखा नम्बर लिने करदाताको संख्या चार लाख ४४ हजार दुई सय बढी छ । जसमा व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता तीन लाख ४७ हजार छ सय नौ, व्यावसायिक स्थायी लेखा नम्बर लिने ९० हजार तीन सय ४७ र करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर छ हजार दुई सय ५८ पुगेको छ । यसैगरी सोही अवधिमा मूल्यअभिवृद्धि करमा दर्ता भएका करदाता १४ हजार एक सय ७४ र अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या सात हजार तीन सय ६५ छ ।
गत आर्थिक वर्षको असारसम्म स्थायी लेखा नम्बर लिने करदाताको संख्या ४८ लाख ३० हजार आठ सय रहेको थियो । जसमा व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता ३० लाख ५० हजार तीन सय चार, व्यावसायिक स्थायी लेखा नम्बर लिने १७ लाख ६२ हजार चार सय १३ र करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर १८ हजार ९४ रहेको थियो । यसैगरी सोही अवधिमा मूल्यअभिवृद्धि करमा दर्ता भएका करदाता दुई लाख ९१ हजार छ सय ३१ र अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या एक लाख १२ हजार दुई सय ३१ रहेको थियो ।