काठमाडौं । नेपाल ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा आगामी चैत २३ गते गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ कार्यक्रम गर्ने भएको छ । नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषद्बीच बुधबार भएको सम्झौतामा आपसी सहकार्यमा पिस म्याराथनसहित बिभिन्न कार्यक्रम गर्ने उल्लेख छ ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । समझदारीपत्रमा बुद्ध जन्मभूमिमा खेलकुद आयोजना गरी लुम्बिनीको प्रचारप्रचारमा सहयोग गर्ने उल्लेख छ ।
सन् २०१३ मा संयुक्त राष्ट्रसंघले अप्रिल ६ लाई ‘इन्टरनेसनल डे अफ स्पोर्टस’ मनाउने निर्णय गरेको थियो । पूर्वपर्यटनमन्त्री समेत रहेका श्रेष्ठले लुम्बिनीमा हुने कार्यक्रमले लुम्बिनीको पर्यटकीय बजार विश्वस्तरमा विस्तार तथा प्रवर्द्धनमा समेत सघाउ पु¥याउने बताए । खेलकुद विश्वमा शान्ति तथा भाइचारा फैलाउन सबैभन्दा उपयुक्त माध्यम रहेको बताउँदै उनले समकालीन विश्वमा खेलकुद जित र हारको विषयमात्र नभएको उल्लेख गरे ।