काठमाडौँ । बुधबार साँझ बालुवाटारमा बसेको दश दलीय गठबन्धनको बैठकले ९ दल सरकारमा सहभागी हुने निर्णय गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुनः सहभागी हुन नपाउने भएको छ ।
कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, आम जनता पार्टी र नेपाल समाजवादी पार्टी सरकारमा सहभागी हुने भएका छन् । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर गठबन्धन भएको मन्त्रालयको भागबण्डा अनुसार रास्वपा सरकारमा सहभागी हुन नपाउने भएको छ ।
नागरिकता प्रकरणमा दोषी ठहर भएपछि तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिएका थिए । त्यतिबेला उनको सांसद पदनै खारेज भयो र उनी सरकारबाट बाहिरिए । नागरिकता पुनः प्राप्तिपछि सरकारमा जान रविले प्रयास गरेपनि प्रधानमन्त्री प्रचण्ड तयार भएनन् ।
चैत ६ गते प्रधानमन्त्रीलाई दोस्रो पटक विश्वासको पनि दिएको रास्वपा आज आएर सत्ता गठबन्धनमा भएको मन्त्रालय भागबण्डामा छुटेको छ ।
मन्त्रालयको भागवण्डा अनुसार कांग्रेस ८, माओवादीलाई प्रधानमन्त्रीसहित ५, एकीकृत २ र जसपालाई २ मन्त्रालय पाउने सहमति भएको छ । यस्तै जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति भएको छ ।